पाकिस्तान निर्वाचन : इमरान खाननिकट स्वतन्त्र उम्मेदवारहरूलाई अग्रता

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले पनि इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरू सफल भएको देखाएको छ ।
पाकिस्तानी निर्वाचन आयोगले भने मतगणनाको परिणाम सार्वजनिक गर्न निकै ढिलाइ गरेको छ । यसलाई सम्भावित जित उल्टाउने षड्यन्त्रका रूपमा पिटिआईका नेताहरूले आरोप लगाएका छन् ।
पिटिआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्विटर) अकाउन्टमा सेयर गरेको एक भिडियोमा पूर्वप्रधानमन्त्री खानले पिटिआईले एक सय ५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।
पिटिआईका अध्यक्ष ब्यारिस्टर गोहरले एक्स अकाउन्टमा एक भिडियो जारी गर्दै रातारात परिणाम परिवर्तन गर्ने कुनै पनि प्रयासलाई पाकिस्तानका जनता वा स्थानीय र अन्तर्राष्ट्रिय पर्यवेक्षक र मिडियाले कुनै पनि हालतमा विफल पार्ने स्पष्ट पारेका छन् ।
भिडियोमा भनिएको छ, ‘पिटिआईले २०२४ को चुनाव पूर्ण बहुमतले जितेको छ । संसारले यसको साक्षी बनायो । अब परिणामको हेरफेरले पूर्ण अराजकता र अस्थिरताबाहेक अरू केही हासिल गर्दैन । जनताले निर्णय गरेका छन् ! उनीहरूको निर्णयको सम्मान गरौँ ।’
पिटिआईका महासचिव ओमार अयुब खानले भनेका छन्, ‘व्यापक धाँधली भइरहेको छ र यो पूर्णतया असम्भव छ ।’ (रासस/एएफपी)