आज प्रजातन्त्र दिवस मनाइँदै
फागुन,७ काठमाडौं । आज प्रजातन्त्र दिवस मनाइँदै छ। विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।
यसपालि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन सरकारले आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ। प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ।
फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि.सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो।