बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरकाे अस्पताल बन्ने

बाग्लुङ – बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ । २०६४ सालमै स्वास्थ्य मन्त्रलायले निर्णय गरेर बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पताल बनाउने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । अब भने प्रदेशस्तरकै अस्पताल बन्ने भएको हो ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको यही फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरिसकेको छ ।

पश्चिम बाग्लुङको व्यापारिक केन्द्रका रूपमा परिचित बुर्तिबाङ बजारमा सुविधायुक्त अस्पतालको अभाव हुँदा हजारौँ नागरिक पाल्पा, पोखरा र काठमाण्डाै पुग्नुपर्ने बाध्यतामा छन् ।
१६ वर्ष अगाडि जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोड रुपैयाँको लागतमा संरचना निर्माण भए पनि स्वास्थ्य केन्द्रले अहिले २५ शय्यासहितको सेवा दिइरहेको छ ।रासस