म्याग्दीको उपल्लो दरवाङको बाटो १८ वर्षपछि कालोपत्र
म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो ।
उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले झण्डै दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो । त्यहाँ एक सय घर छन् ।
उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
गएको पुसमा ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले दुई सय ५० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र र एक सय मिटरमा पक्की नाली निर्माण गरिसकेको पूर्वाधार विकास कार्यालय म्याग्दीका सव इञ्जिनियर रविन चोखालले बताउनुभयो । रासस