बुटवलका विभिन्न क्षेत्र डुबानमा
बैशाख,३० काठमाडौं । हिजो रातिदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ,हाट बजार लाइनसहितका क्षेत्र डुबानमा परेको हो । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेका इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
अहिले पानी घटे पनि हिलो र लेदो सडकमा थुप्रिएको छ । रुपन्देही उद्योग सङ्घको कार्यालय र पश्चिम नेपाल बस समितिको कार्यालय भित्र पानी पसेको प्रहरीले बताएको छ । डुबानका कारण सडक अस्तव्यस्त भएपछि यहाँस्थित न्यू होराइजन स्कुलले आज बिदा दिएको छ । सोह्र छत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले बताएको छ ।
यसैबिच वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गतका पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुनः सञ्चालनमा आएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।