Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

नारायणी नदीमा बन्ने ‘सिग्नेचर’ पुलकाे प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा बन्ने आधुनिक नयाँ पुलको शिलान्यास भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको भन्दै उहाँले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आउने दिनमा गुणस्तरता एवम् दिगोपनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

सडक विभागको पुल महाशाखाका डिभिजनल इन्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक ‘केबल स्टेट ब्रिज’ बनाउने तयारी छ । पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने पुलको मुनिबाट ठूला डुङ्गा आवतजावत गर्न मिल्ने गरी बनाइने उहाँले बताउनुभयो ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार डिजाइनको काम करिब सकिएको छ । अहिले भएको नारायणीको पुल २०३८ सालमा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com