Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

हवाई उडान सञ्चालन नहुँदा जिल्ला अस्पताल हुम्लामा औषधि पुगेन

हुम्ला – जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गए पनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ । १५ शय्याको जिल्ला अस्पतालमा गएको वैशाखदेखि औषधि अभाव छ ।

रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले गुनासो गर्नुभयो । बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै डाक्टरले लेखिदिएको औषधि निजी मेडिकलबाट किन्नुपरेको उहाँले बताउनुभयो । चार हजार रुपैयाँसम्मको औषधि निजी मेडिकलबाट किनेको भन्दै टमटाले अस्पतालमा भिटामिनसमेत नभएको गुनासो गर्नुभयो ।

वैशाखयता अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको बताउनुभयो । अबको एक÷दुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्जमा थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com