Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

अब १५ मिनेटमै पुगिन्छ पिप्लेबाट भगवती, गाडीभाडा पनि घट्यो

म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ।रघुगंगा–३ पिप्लेको रघुगंगा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो। 

‘साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो,’ भगवती मैदानका बासिन्दा रिम मल्लले भने, ‘सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौं।’ 

विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि  कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताए। पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो,’ उनले भने, ‘यात्राअवधि १० मिनेटमा छोटिएको छ।’

यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु तीन सय रुपैयाँ भाडा रहेकामा हाल दुई सय ५० रुपैयाँ कायम गरिएको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरू भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ। 

यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए। प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए।

पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ। खड्का–कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ रुपैयाँमा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो। कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो।

पहिरो प्रभावित राहुघाटबाट रघुगंगा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ। गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो।

भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए। जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले भने। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com