कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो
भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) काअनुसार रेमालका कारण अहिले कोलकातामा हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिम बङ्गाल पनि आँधीबाट प्रभावित भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
आँधीपछि बङ्गालमा तटीय क्षेत्रमा पहिरो जाने क्रम जारी छ । आईएमडीकाअनुसार चक्रवाती आँधी ‘रेमाल’ पश्चिम बङ्गालबाटै शुरु भएको हो । बङ्गालको खाडीमा बनेको चक्रवात रेमाल उत्तर दिशातर्फ सरेको र बङ्गलादेशतर्फ गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो आँधी पश्चिम बङ्गालको सागर टापु र क्यानिङ र बङ्गलादेशको खेपुपारा र मोंगलातर्फ सर्दैछ ।आँधीलाई ध्यानमा राखी क्षति कम गर्न नौसेना र तटरक्षक टोली परिचालन गरिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका मौसम विभाग तथा विप्तसम्बन्धी मन्त्रालयसँग भेटवार्ता गरी रेमालको अवस्था, पूर्वानुमान, जोखिम र आवश्यक तयारीबारे छलफल गर्नुभएको थियो ।
त्यसपछि आँधी प्रभावित क्षेत्रहरूमा माछा मार्नेहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिएको खबरमा उल्लेख छ । जोखिम क्षेत्रमा एम्बुलेन्स र हवाई सेवाका लागि उडानहरुलाई समेत तयारी अवस्थामा राखिएको छ । एजेन्सी