Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

सेती लोकमार्गको १० किलोमिटर कालोपत्र हुँदै

२० जेठ, कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ ।

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग केही दिनभित्रै सम्झौता हुँदैछ । सडक कालोपत्रका लागि ३१ करोड रुपैयाँ प्राप्त भएको छ ।

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ ।

२ सय ४ किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ ।

कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ । अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा ३ करोड रुपैयाँ छुट्याइएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com