Yeti Khabar

२०८१ आश्विन १, मंगलवार - Tue Sep, 2024 -

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताएका छन्।
 
हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चचालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको बताए।

‘तीन ठूला सबस्टेसनहरू नेपालका नदी तथा खोलानालाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको  द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसनहरू मेरुदण्ड (ब्याकबोन) का रूपमा रहनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबस्टेशनहरू निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ।’

उनले विद्युत उत्पादन र खपत गर्ने उपभोक्ताबीच जोड्न सयौं किलोमिटर दूरीमा पूर्व–पश्चिम, उत्तर–दक्षिण प्रसारण र वितरण लाइनका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणको काम तीब्र गतिमा भइरहेका बताए।

विगतमा आफ्नै नेतृत्वको सरकारले देशलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरू अँध्यारोमै थिए। तर, अहिले करिब ९५ प्रतिशत भूभागमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । वैकल्पिक ऊर्जासहित करिब ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ।’

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न कार्यहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकका लागि सुनौला दिनहरू टाढा नरहनेको बताए।

उनले अब विद्युत्को पहुँच मात्र होइन, आन्तरिक रूपमा विद्युत खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण निर्देशन दिए।

‘करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्नसक्ने पूर्वाधार तयार हुनुलाई मैले देशको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पूर्व–पश्चिम विद्युत आपूर्ति गर्न र भारतर्फ थप विद्युत प्रवाह तथा क्षेत्रीय विद्युत व्यापारका लागि हेटौंडा सबस्टेसन अर्को ठूलो ‘हब’ बनेको छ।’

नेपाली इन्जिनियर तथा प्राविधिकहरूबाट नै डिजाइन तथा निर्माण सुपरीवेक्षण गरिएका ४०० केभीका तीन वटा सबस्टेसनको निर्माणबाट नेपालको प्राविधिक क्षमता बृद्धि भएको बताउँदै प्रधानमन्त्रीले उक्त ज्ञान, सीप र दक्षलाई अन्य आयोजनामा अनुशरण गर्नुपर्नेमा जोड दिए। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com