‘विदेशमा रहेकाहरूको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ’
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ ।
निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले आज काठमाण्डौमा गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो । उहाँले अघिल्लो चुनावमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने बताउनुभयो ।
सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई मतदान गर्न दिने कानुनी व्यवस्था गर्न आदेश दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।रासस