विभिन्न स्थानमा गएको पहिरोका कारण सात जनाको मृत्यू
असार २३ काठमाडौं । देशका विभिन्न स्थानमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ । शनिबारयता पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
पर्वतको फलेवास नगरपालिका १ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका ३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको हो ।
पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको छ । यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपालीसहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको टोलीले उद्धार गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । बेपत्ता १ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस्तै स्याङ्जाको बिरूवा गाउँपालिका ६ लामाखेत बस्ने ईश्वरी लम्सालको घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही गाउँपालिका ६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुइश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् । गुइश्वरी र माधवको घर पहिरोले पुरिएर क्षति भएको र उनीहरूको उद्धार गरी ईश्वरीको खाली घरमा राखेकोमा उक्त घरसमेत पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार एवम् खोजी गर्ने क्रममा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।