समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल
काठमाण्डौ – समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचारिक कुराकानी भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिनुभयो । मोर्चालाई सक्रिय बनाएर सातै प्रदेशमा सङ्गठन विस्तारबारे कुराकानी भएको उहाँले बताउनुभयो ।
छलफमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेपाल समाजवादीका अध्यक्ष यादवसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो । रासस