Yeti Khabar

२०८१ भाद्र २३, आईतवार - Sun Sep, 2024 -

हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरण नेतृत्वप्रति सांसदहरुको असन्तुष्टि

काठमाण्डौ – सांसदहरुले देशको हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वप्रति चर्को असन्तुष्टि जनाएका छन् । विमान दुर्घटना हुने क्रम बढेको उल्लेख गर्दै उनीहरुले देशको छविसँग पनि जोडिएको संवेदनशील विषयमा प्राधिकरण नेतृत्व र सरोकारवाला टुलुटुलु हेरिरहन नहुने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजो भएको बैठकमा सांसदहरुले बुधवार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न गरे ।

साथै उनीहरुले हरेक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्नसमेत माग गरे । सांसदहरुले दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद उदयशमशेर जवराले विमान दुर्घटनाको जिम्मेवारी प्राधिकरण नेतृत्वले लिनुपर्ने बताउनुभयो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि विभिन्न विमान दुर्घटनामा एकसय भन्दा बढीको ज्यान गएको भन्दै उहाँले बुधवारको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पनि प्राधिकरणको गम्भीर लापरबाही रहेकाले जिम्मेवार पदाधिकारीलाई कानुनी दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।

सांसद शिशिर खनालले देशको हवाई सुरक्षा पेचिलो बन्दै गएको भन्दै विमान दुर्घटनामा जिम्मेवार निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणको वर्तमान नेतृत्वको साढे दुई वर्षमा भएका सात दुर्घटनामा परी दुई सय १८ जनाको ज्यान गएको भन्दै विमान दुर्घटनाको नैतिक दायित्व र जिम्मेवारी लिनुपर्ने जिकिर गर्नुभयो ।

सांसद सुदन किरातीले समग्र हवाई सुरक्षा प्रणालीको सुधारका लागि प्राधिकरण विभाजन विधेयक अगाडि बढाइनुपर्ने बताउनुभयो। सांसद विमलेन्द्र निधिले जसरी पनि युरोपियन युनियन (इयू)को सुरक्षा सूचीबाट हटाउन पहलकदमी गरिनुपर्ने बताउनुभयो ।

समितिका सभापति राजकिशोर यादवले देशमा बारम्बार भइरहेका विमान दुर्घटनाले गम्भीर सुरक्षा लापरबाही भएको भन्दै नियामक प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । हरेक विमान दुर्घटनामा प्राविधिक पक्ष देखाएर प्राधिकरण पन्छिने गरेको भन्दै नियमक निकायको लापरबाहीले हवाई सुरक्षामा आँच आइरहेको उहाँको भनाइ थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान दुर्घटनाबारे जाँचबुझ आयोग गठन भएकोले आयोगको प्रतिवेदन नआउँदासम्म कारणबारे प्रतिक्रिया दिन नसकिने बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com