Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो

काठमाण्डाै – बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

तीन ठूला दल सम्मिलित कार्यदलका संयोजकसमेत रहेका गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउनुभएको हो ।

कार्यदलले एक हप्ताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको विधेयकका मुख्य मुद्दामा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट लेखकसहित एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहनुभएको थियो । मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा पीडितमैत्री भई सहमति निकालिएको गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

यसैबीच प्रमुख तीन दलका शीर्ष नेताहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को यही अधिवेशनबाट पास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरूका लागि मात्र खुशीकाे विषय नभएको भन्दै यो विधेयकलाई संसद्को यही अधिवेशनमा पेश गरेर पास गर्नसमेत आग्रह गर्नुभयो ।

यस्तै सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउँदा विश्वका लागि अनुकरणीय हुने बताउनुभयो ।

यस्तै नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन यो सहमति ‘टर्निङ प्वाइन्ट’ भएको बताउनुभयो । कार्यदलले जुटाएको सहमतिलाई संसद्को कानुन समितिले सर्वसम्मत रूपमा पास गर्ने विश्वास रहेको भन्दै उहाँले संसदबाट पनि यही अधिवेशनमै पास गर्ने बताउनुभयो । ओलीले कानुन कार्यान्वयनमा पनि सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com