कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू
साउन, २३ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू भएको छ। बैठकमा गत फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमिति बैठकले पारित गरेका विभिन्न प्रस्तावलाई सुझावसहित अनुमोदन गर्नेजस्ता एजेन्डामा छलफल हुनेछ।
महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठानिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे पेस गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको थियो।
महासमिति सदस्यहरूले ती प्रस्तावमाथि दिएका सुझावलाई प्रस्तावमा समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्ने त्यसबेला निर्णय भए पनि अहिलेसम्म केन्द्रीय समितिमा पेस गरिएको थिएन।
साथै समसामयिक राजनीति, पार्टीको संगठन सुदृढीकरणका लागि अभियान, संघीयदेखि प्रदेशका सरकारहरूका कामकारबाही प्रभावकारी बनाउनेजस्ता विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताए ।