तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे
तनहुँ – तनहुँ सदरमुकाम दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । एक हप्तादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या धेरै बढेको अस्पतालले जनाएको छ ।
असारदेखि अहिलेसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सय जनासम्म ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
वर्षा लागेसँगै बिरामी बढेकाले उहाँले खानेकुरा,पानी र सरसफाइमा ध्यान दिन सुझाव दिनुभएको छ । पछिल्लो समय डेङ्गी सङ्क्रमण फैलिन थालेकाले लामखुट्टेको टोकाइबाट जोगिन पनि उहाँको सुझाव छ । रासस