Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

स्याफ्रुबेँसी–रसुवागढी सडक खुल्यो, रसुवागढी–केरूङ अनिश्चित

काठमाण्डौ – पहिरोका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा आएको छ । सडक खुलेपछि हल्का गाडी र मालबाहक कन्टेनर हिजो दिउँसोदेखि गन्तव्यतर्फ प्रस्थान गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर दुरीमा दर्जनौँ ठाउँमा खसेको पहिरो सुरक्षा निकायको सहयोगमा सडक विभागको डोजरले हटाएको थियो ।

सामान लिनका लागि तिब्बतको केरूङतर्फ जान लागेका ४० वटा कन्टेनर डिब्बा पहिरोका कारण स्याफ्रुबेँसीको आसपास नै रोकिएका थिए भने मालसामग्री बोकी केरूङबाट नेपाल भित्रिएका दुई सय कन्टेनर रसुवागढी भन्सार हातामा रोकिएका थिए ।

अहिले भने सबै गाडी क्रमिक रूपमा ओहोरदोहोर भइरहेका छन् । रसुवागढीमा रोकिएका कन्टेनरहरूमा दशैँ लक्षित लत्ताकपडा, जुत्ता, चप्पल, रोलकपडा, थर्मस, इलेक्ट्रोनिक्सका सामग्रीका साथै स्याउ, लसुन तथा अदुवासमेत रहेका थिए ।

रसुवागढी नाकाबाट दशैँका लागि ४६ डिब्बा तयारी पोशाक, ११ ट्रक स्याउ, दुई ट्रक हलुवावेद र दुई ट्रक अनारसमेत मितेरी पुलबाट नेपाल भित्रिसकेको शसस्त्र प्रहरी बल २० नम्बर गुल्मले जनाएको छ । सडकको दायाँबायाँ धेरै ठाउँ भिरपाखो भएका कारण सुरक्षाको स्थितिलाई मध्यनजर राखी रातको समयमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।

यसैबीच पहिरोले रसुवागढीको मितेरी पुलदेखि तिब्बतको केरूङ खण्डको चिनियाँ राजमार्ग भने बन्द भएको सीमा सुरक्षाकर्मीले बताएका छन् । चिनियाँ भागको ठोङ्सा नजिकको पहिराले सडकमा ठूलो क्षति भएको छ, तर चिनियाँ पक्षले मर्मतको काम अगाडि नबढाएको स्थानीय प्रशासनको भनाइ छ ।

त्यही कारण केरुङ जाने प्रतिक्षामा रहेका ट्रकहरु रसुवागढीमै रोकिएका छन् । केरूङ–रसुवागढी सडकखण्डमा ठाउँठाउँमा निकै ठूला पहिरा गएका कारण यातायात अवरुद्ध छ । कैलाश मानसरोवरको दर्शन गरेर फर्कने नेपाली र अरु देशका नागरिकलाई नेपालतर्फ ल्याउन पहल भइरहेको प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीले छिटो सडक नबन्ने बताएपछि रसुवागढी–केरूङ–रसुवागढी ओहोरदोहोर हाललाई अनिश्चित भएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com