तातो भातको बोराले पिठ्यूँमा पाेलेकाे एक छापामारको भाेगाई
तातो भातको बोराले पिठ्यूँमा पोलेर फोकैफोका ! हो तपाइलाई आश्चर्य लाग्यो होला तिन छक पर्नुभयो होला । कसरी यस्तो हुन सक्छ ? हो भयो मेरो जीवनमा घटेको सत्य घटना हो । कुरो २०६०/ ६१ साल तिरको कुरा हो । जाजरकोट जिल्लाको एक दुर्गम गाउँमा साँझपख अनुमानित ४ बजेको समय हो । पुरै बटालियनलाई बेलुकीको खानको मेसो मिलाउँदै‚ केही पतेला/ डेक्ची भातका पाक्दै थिए केही पाकिसकेका थिए । दाल‚ तरकारी र बङ्गुरको मासु पनि पाक्ने तरखरमा थियो ।
लगभग खाना पाक्नै लागेको थियो । दिनभरी तालिमको थकान जवानीको भोक खाजा‚ नास्ता केही नखाएर बसेको अवस्थामा सबै जवानहरू खानाको पर्खाइमा हतारिरहेका थिए । सबै जना आफ्नो काममा व्यस्त थिए । कसैले हतियार सफा गरिरहेका थिए । कोही नजिकैको धारामा नुहाउँदै थिए भने केहीले बुटमा पोलिस् गरिरहेका थिए । भने आधिकांश साथीहरूले घाम तापिरहेको आस्थामा थिए । स्थायी रुपमा क्याम्प नभए पनि केही हप्ताअगाडि अस्थायी रुपमा तालिम गर्नको लागि ब्यारेक बनाएर बसेका थियौँ । मलाई लाग्छ छिटै नै कतै नजिकैको शाही नेपाली सेनाको ब्यारेक आक्रमण गर्ने तयारी हुँदै थियो ।
मनमा धेरै चिन्ता नभएपनि एउटा कुराले सबैलाई सधैँ पिर परिरहेको हुन्थ्यो । जे पीर थियो त्यही भयो खाना खानै लागेका बेलामा सेन्टी बसेका कमरेडले दुस्मन आयो भन्दै खबर पठाउनु भयो । खबर पाउनासाथ सबैजना तुरुन्त तयार भएर खोलापारीको अर्को गाउँ जाने निर्णयका साथ कमान्डरको निर्देशन आयो “टोली मूभ” भनेर‚ सबै आ–आफ्नो सेल्टरमा पुगी आ–आफ्नो झोला‚ समान तयार गरेर एकदम छिटो रेडी भए ।
म पनि त्यसै गरी तयार भएँ । आफ्नाे जिम्मेवारीमा आएका सबै सामाग्री‚ राइफल‚ गोला बारुद‚ झोला आदि तयार गरी हिँडन ठिक्क भएर आदेशको पर्खाइमा बस्यौँ । त्यसदिन मेरो मेसको ( सम्पूर्ण टोलीलाई खाना तयार गर्ने ) जिम्मेवारी भएको कारण आफ्नो समान भन्दा बढी बोक्नु पर्ने जिम्मेवारी थियो । डेक्ची‚ इत्यादि । ठिक्क खाना खाने समय भएको र सबै टोली भोको भएको हुनाले खाना फाल्ने आँट पनि आएन । हुनपनि पाकेको खाना छोड्दा रातभरी भोकै हुने निश्चित जस्तै थियो । त्यसैले मेसमा भएका कमरेड हरुले खाना बोक्ने फाल्न नपाइने भनी अर्डर आउने अनुमान थियो ।
भयो पनि त्यस्तै चामलको बोरामा तातो भात भरेर बोक्ने आदेश आयो । पुस महिनाको चिसोमा तात्तातो बाफ सहितको भात बोरामा भर्दै बोक्दै सोही अनुसार कार्य गर्न थालियो । दाल सबै फालेर मासु बोक्ने कुरा भयो । मेरो जिम्मामा एकबोरा पाकेको भात पर्यो । चामलको बोरामा भात खाँदेर बुइँमा बोकेर आफ्नो झोला पनि बोकेर दौडिन थालियो । यी सबै काम यतिधेरै छिटो भएका थिए कुरौ नगरौं‚ दुस्मन आयो भन्दावित्तिकै सबैको होस हवास उड्ने नै भयो ।
किनकी हाम्रो लडाँइ नै उनिहरु संगको थियो । अन्य कुराको भन्दापनि डर तत्कालिन आर्मीकै हो । मनमा निकै धेरै डर भएको हुनाले अन्य कुनै कुराको ख्यालनगरी सूइकुच्चा ठोकियो । यस्तो लडाँइको झमेलामा म भने पहिलो पटक झेल्दै थिएँ । अरुको भन्दा मेरो डर तुलनात्मकरुपमा बढी थियो । झण्डै एक घण्टाको ओरालो दौडाई पछि निकै तल पर खोलामा पुगियो । खोला तर्ने बेलामा गोडा चिप्लिएर पानीको दहमा चुर्लुम्मै डुबेर भिजियो जसो तसो खोलापारी तर्न सबल त भइयो तर चिसो महिनामा लुगा‚ झोला‚ भातको बोरा‚ ग्रिनेट आदि सबै भिज्यो भिज्नबाट जोगाउन सकिएन ।
हाम्रो फौजमा एउटा चर्चित भनाई थियो “बरु ज्यान जावस हतियार‚ गोली‚ ग्रिनेट बम नछुटोस” सोही सिद्धान्तलाई अबलम्बन गर्दै जीवन दाउमा राखेर मसङ्ग भएका सबै चिज बस्तु भने बचाउन सबल भएँ आफु पनि बाँचे । त्यो बेला सम्ममा पनि मलाई केही भएको छ भन्ने कुरा सुँइको समेत पाएको थिइन । दिमागमा दुश्मनले भेट्छकी भन्ने चिन्ता मात्र हावी भएको थियो । खोला तरेर पारी अल्लि माथि पुगेपछि पछाडी ढाडमा पोले जस्तो आभास भयो । हामि दुस्मन आयो भन्ने स्थान भन्दा निकै टाढा पुगि सकेका थियौँ ।
त्यसैले होला दुस्मनको चिन्ताले भन्दा पनि पिठिउँको चिन्ताले बढी पोल्न थालेपछी सँगै हिडेका कमरेड सँग आग्रह गरे मलाई निकै पोलेको छ ? के भयो होला हेर्दिनुहोस् न भनेर काम लगाए । हेर्नु भयो छक्क पर्नु भयो । ओहो ! तपाइको त ढाडमा निकै ठुला–ठुला फोका छन् । केही फुटेका र केही पानीले टिल्पिल भएर बसेका छन् कमरेड तपाइलाई दुखेको छैन ? अच्चमित हुँदै साथीले प्रश्न गर्यो ! हल्का पोलेको छ खास्सै त्यस्तो त दुखेको छैन् भनेर उत्तर दिए वास्तवमा मलाई निकै पिडा भइरहेको थियो । बोरामा हालेको तातो भातले मेरो पिठिउँमा पोलेर फोका भएर पनि फुटीसकेको रहेछ मलाई भाग्ने सुरमा त्यती महसुस भएन ।
उमेरले पनि सानै हो १४/१५ वर्षको हुँदोहो मलाई निकै ठुलो जिम्मेवारीले थिचिसकेको अवस्था थियो भन्दा पनि फरक पर्दैन् । जब म विद्यालयबाट तत्कालिन माओवादीले थालनी गरेको जनयुद्धमा सहभागी हुँदैथिएँ म बयस्क भइसकेको थिइन । कलिलो उमेर ७ कक्षा मा अध्यायनरत एक बालक थिएँ । माओवादीमा किन गएँ त्यो पनि निकै ठुलो रहस्यमय छ । सबै कुरा भन्न त्यती उचित नहोला । तर जस्ले मलाई किताब‚ कापी र कलमको सम्बन्धबाट छुटाउन ठुलो भुमिका खेलेका थिए ति आज बारम्बार सत्तामा गएर मलाई नै शासन गरिरहेका छन् । उनिहरुको जीवनमा महान परीर्वतन भएपनि म जस्ता आम नागरिककोलागि भने राजनीतिक शासन व्यावस्था बाहेक अरु परिर्वन भएको महसुस गर्न सकेको छैन् । यसका पछाडी धेरै कारणहरु होलान तर सामाजिक रुपान्तरणको लागि खेलेको भुमिकाको उचित मूल्याङकन नहुँदा क्रान्तिको लागि तिलान्जली दिएको बालापन‚ रगत र पसिनाको श्राप भने पक्का लाग्छ होला भनेर चित्तबुझाउने गरेको छु ।
मेरो जीवनमा भोगेका सबै घटना र दुखको संगालो बनाउने हो भने महाकाव्या लेखिन्छ होला । जेहोस राजनीतिक वृत्तमा नपसिकन यो आलेख विडमार्ने जर्मक गरेको हुनाले म बढी यतै केन्द्रित भएर लेखेको छु । विद्यालयको कोठाबाट जनमुक्ति सेनामा हिडेको पहिलो दिन मै बमको झोला बोकाएको कारण दिनभरी पिसाव समेत गर्न नसकेको घटना पनि मेरै जीवनमा घटेको थियो । यो रमाइलो प्रसंग जोड्न मलाई त्यती मन त होइन तर यसले पनि मानिसको जीवनमा कतै केहीन केही कुराले असर गर्दछ र मेल खान्छ होला भनेर मलाई रमाइलो लागेको प्रसङ्ग जोडेको मात्र हुँ ।
ग्रिनेटको कुनैपनि जानकारी नभएको एक विद्यार्थीको पेटको झोलाभरी बमका डल्ला हुँदा के हुन्छ होला बम भन्दावित्तीकै पड्किन्छ र मान्छे मर्छन भन्ने मानसिकतामा हुर्केको बालकलाई बम बोकाउदाँ कस्तो हालत भयो होला तपाँइले पनि सहजै अनुमान लगाइ सक्नुभयो । हो मलाई बमको झोला दिँदा वित्तिकै कसरी बोक्ने भन्ने पनि थाहा थिएन‚ कसरी पड्किन्छ भन्ने पनि पत्तो छैन तर पनि बोकेको छु । पुरै पसीनै पसिना भएको छु । डरले थुर थुर काँपेको छु कसैलाई केही भन्न पनि सकेको छैन । पिसाबले च्याप्दा समेत पिसाब गर्न सकेको छैन कतै बम पो पड्किन्छ कि भन्ने त्रासै त्रासको ठुलै भय बोकेर यात्रा गरें । यस यात्राले जीवनको नयाँ भोगाइको अवसरका साथ पाठ सिकाएको छ ।