Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

अध्यादेशप्रति प्रधानमन्त्री ओली– ‘कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन’

‘रवि लामिछानेलाई कसैकाे दबाब वा आग्रहमा पक्राउ गरिएकाे हाेइन’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे विपक्षी दलकाे ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे भन्नुभयो, ‘विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’

यस्तै प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको स्पष्ट गर्नुभयो ।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’, उहाँले भन्नुभयो, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्ट बाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।’

यस्तै प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी पहिरो र डुबानका घटनापछिको राहत र पुनर्स्थापनामा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्न सहमति भएकाे छ । प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाको खोजी कार्य जारी रहेको, बेलिब्रिजसमेत मगाएर राजमार्ग सञ्चालनमा ल्याइएको जानकारी दिँदै यस्ता विषयमा राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी हुनुहुन्थ्यो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com