बर्गर तथा पिज्जामा ‘लेबल’ नलगाई बेच्ने, सरसफाइमा ध्यान नदिने डेरीलाई ५० हजार जरीमाना
ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर–१५ हात्तीवनमा रहेको नेपाल डेरी प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ ।
नेपाल डेरी प्रालिले बर्गर तथा पिज्जामा ‘लेबल’ नलगाई बिक्री/वितरण गरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएकाले ५० हजार रुपैयाँ कारबाही स्वरूप जरीमाना गरेको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा कैफियत पाइएकाले कारबाही गरेको जनाएको छ ।
यसैगरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो । निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न स्टोरलाई निर्देशन दिँदै विभागले अटेर गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । रासस