इरानमा चरमपन्थी समूहको आक्रमणमा परेर १० जना प्रहरीको ज्यान गयो
इरानको ताफ्तानमा चरमपन्थी समूह जैश अल–अदलले गरेको आक्रमणमा १० जना इरानी सुरक्षाकर्मीको ज्यान गएको छ । इजरायली आक्रमणको एक दिनपछि नै इरानले अर्को आक्रमणको सामना गर्नुपरेको हो । १० जना सैनिकको ज्यान गएको ताफ्तान क्षेत्र पाकिस्तानको सीमा नजिकै छ ।
इरानी आन्तरिक मन्त्रालयले सशस्त्र आक्रमणकारीहरूले ताफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा आक्रमण गरेको बताएको छ । इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमानीले घटनालाई आतङ्कवादी आक्रमण भन्दै तत्काल अनुसन्धानको आदेश दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रहरी कर्मचारीहरू आफ्नो ड्युटी पूरा गरेपछि निवासमा फर्कने क्रममा आक्रमणमा परेका थिए । आतङ्कवादी सङ्गठन जैश–अल–अदलले आक्रमणको जिम्मेवारी लिएको छ । जैश–अल–अदल एक सशस्त्र चरमपन्थी सङ्गठन हो । एजेन्सी