देउती बज्यै मन्दिरकी मूल पुजारी मृत फेला
कार्तिक, २८ काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरकी मूल पुजारी मृत फेला परेकी छन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका की ५१ वर्षीया सरस्वती राजी मन्दिरको मूल ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार उनी मन्दिरको मूल ढोकाको भित्रपट्टिको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा फेला परेकी थिइन् ।
‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियो । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन । तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
उनका अनुसार सरस्वतीका श्रीमान् रुद्रबहादुर राजी यसअघि मन्दिरका मूल पुजारी थिए । उनको निधन भइसकेको छ । प्रहरी प्रमुखका अनुसार मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ । सरस्वतीको मृत्यु भएपछि देउती बज्यै मन्दिरमा हुने दैनिक पूजापाठ रोकिएको छ ।