पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
मंसिर २ काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ ।
उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डाै क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ ।
ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित हुनुभएको थियो । ढुङ्गानाको भोलि अन्त्येष्टि हुने परिवारले जनाएकाे छ ।