एमालेद्वारा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त
मंसिर, ३ काठमाडौं । नेकपा एमालेले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् । ‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,गौतमले विज्ञप्तिमा भनेका छन् ।
हिजो ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा दमननाथको निधन भयो । ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए ।