निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु
मंसिर,१६ काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा ४ जनाको मृत्यु भएको छ । आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।
पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा ५ जना पुरिएका थिए । २ जना भने भाग्न सफल भएका थिए । बिहान १०ः२० बजे मानिसहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो । प्रहरीले मृत्यु भएका ४ जनालाई बाहिर निकालेको र पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको बताएको छ ।