Yeti Khabar

२०८१ मंसिर १९, बुधबार - Wed Dec, 2024 -

बीबीसी सय प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट सार्वजनिक गरेको एक सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि समेटिनुभएको छ । नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्य जलवायु अभियानअन्तर्गत सय प्रभावशाली महिलाको सूचीमा समेटिनुभएको हो ।

शिलशिला आचार्य नेपालमा लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय उद्यमी रहनुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँ नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउनुहुन्छ ।

उहाँले सञ्चालन गर्दै आउनुभएको फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्थाले सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिँदै आएको छ । साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको समेत बीबीसीले उल्लेख गरेको छ ।

शिलशिलाले सन् २०१४ मा ’धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो । शिलशिला हिमाल सफा गर्ने अभियानमा समेत जोडिनुभएको थियो ।

बीबीसीले जलवायु अभियान, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवम् खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवम् प्रविधि क्षेत्रका महिलालाई समेटेर विश्वभरबाट प्रभावशाली एक सय महिलाको सूची तयार पारेको जनाएको छ ।

बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन् । त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि बीबीसीको प्रेरक र प्रभावशाली महिलाको सूचीमा रहेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com