‘समूह नै जाइलागेपछि श्रीमानलाई बचाउन सकिनँ’
कैलालीमा सामूहिक कुटपिट हुँदा ३० वर्षीय सुरेश भुलको मृत्यु भयो। कात्तिक २६ गते बिहान ५ बजे उपचारको क्रममा उनको मृत्यु भएको थियो।
यस घटनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार (मंसिर १४) सरकारी वकिल कार्यालयलाई बुझाएको छ। प्रहरीले प्रतिवेदन बुझाएसँगै सोमबार सरकारी वकिल कार्यालयले मुद्दासमेत दर्ता गरेको छ।
घटना भएको २० दिनपछि ७ जनाविरूद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी अदालती प्रक्रिया अगाडि बढाइएको सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता प्रयागदत्त जैसीले जानकारी दिए।
‘बाख्रा चोरीको आरोपमा सामूहिक कुटपिट हुँदा टाउकोमा चोट लागेर भुलको मृत्यु भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ,’ सहायक न्यायाधिवक्ता जैसीले भने, ‘त्यहीअनुसार अदालती प्रक्रिया अगाडि बढ्छ।’
परिवार र राष्ट्रिय दलित पत्रकार संघ नेपालले गरेको स्थलगत अध्ययनले भने भूलमाथि बाख्रा चोरेको बाहनामा सुनियोजित ढंगले हत्या भएको बताएको छ।
दलित पत्रकार संघको अध्यक्ष विनोद पहाडीसहित ७ जनाको टोलीले गरेको स्थलगत अध्ययनमा भुलको नियोजित ढंगले हत्या भएको निकर्ष छ।
उनीहरूले घटनास्थलमै पुगेर कात्तिक २९ देखि मंसिर ३ गतेसम्म अध्ययन गरेका थिए। उक्त अध्ययन टोलीले योजनाबद्ध ढंगले हत्या भएको भन्दै मंसिर ६ गते प्रतिवेदन सार्वजिनक गरेको थियो।
बाख्रा चोरीको आरोप बाहना बनाएर हत्या भएको उक्त प्रतिवेदनको निष्कर्ष छ।
बाख्रा चोरीको आरोपमा निर्घात कुटपिट गरी हत्या भएको घटनाप्रति स्थानीय तह, प्रहरीले लापरबाही गरेको अध्ययन टोलीको आरोप छ। तर यसबारे कसैले चासो दिएका छैनन्।
उनको मृत्यु भएपछि पनि कुटपिट भएकै होइन भन्ने कुरा भइरहेको थियो। घटनाको क्रममा भुलका आफन्तले खिचेको कुटपिटको भिडिओ निराजन परियारले सामाजिक सञ्जालमा राखेका थिए।
उनले राखेको भिडिओमा भुललाई कुटपिट गरेको प्रष्ट देखिन्छ। उक्त भिडिओ अनुसन्धानको केही आधार बन्यो।
सामान्य विवाद भएको भनिएको घटनाले नयाँ मोड लियो। यसमा प्रहरी र स्थानीय तहको लापरबाही प्रष्ट देखिएको उनको परिवारजनको आरोप छ।
बाख्रा चोरीकै आरोपमा कानुलाई आफ्नो हातमा लिएर निर्घाट कुटपिट भएको उनीहरुले बताउँदै आएका छन्। त्यही कारणले मृत्यु भएको अस्पतालको रिपोर्टले पनि प्रमाणित गरिसकेको उनीहरूले बताएका छन्।
चोरीको पुष्टि नभई आरोप–प्रत्यारोपमै भुलले ज्यान गुमाउनुपर्यो। यसमा प्रहरी र स्थानीय जनप्रतिनिधिले घटनालाई गम्भीररूपमा नलिदाँ ज्यान गुमाउनु परेको देखिन्छ।
भूलमाथि चोरीको आरोप कसरी लाग्यो? कसरी उनले ज्यान गुमाउनु पर्यो भनेर हामीले यसघटनाबारे सम्बन्धित व्यक्ति निकाय र मृतकको श्रीमती कल्पनाकुमारी सार्कीसँग कुराकानी गरेका छौं।
भुलका परिवार अछाम जिल्लाबाट बसाइँ सरेर लामो समयदेखि कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर ११ कान्तिपुर टोलमा बस्दै आएका थिए। वडा कार्यालयनजिकै उनको मेडिकल पसल छ। जहाँ उनले फोटोकपी, प्रिन्टसमेत गर्थे। यसका अतिरिक्त उनी पत्रकारसमेत थिए।
उनकी श्रीमती वडा कार्यालयकै स्वास्थ्य चौकीमा वर्थिङ सेन्टरमा काम गर्छिन्। त्यहाँ दम्पतीसँगै ३ छोरी एक भाइ र भान्जी बस्दै आएका थिए। उनका बा-आमा र बहिनी भने ज्याला, मजदुरीका लागि भारतमा गएका थिए।
दम्पतीको दैनिकी राम्रै चलिरहेको थियो।
सदाझैं कात्तिक २३ गते बिहान पनि भुल ६ बजे उठेर वडा कार्यालय नजिककै सार्वजनिक शौचालयमा पुगे। वडा कार्यालय बस्नेहरूले प्राय: त्यही शौचालय प्रयोग गर्छन्।
शौचालय जाँदैगर्दा भुलले त्यहाँ जाडाले कामिरहेको बाख्रा देखे। बाख्रा बेवारिसे थियो। वडा कार्यालयअगाडि देखिएको बाख्रा कसको हो भन्दै भुलले कानमा समातेर पसल अगाडि ल्याएर बाँधेको कल्पना बताउँछिन्।
‘उहाँले बाख्रा घिच्चाएर ल्याउँदै गर्दा म उठिसकेको थिएँ,’ कल्पनाले भनिन्, ‘कसको बाख्रा हो भन्दै हामी एकछिन अलमलमा पर्यौं।’
उनले थपिन्, ‘गाउँमा बाख्रा हराएको छ भन्ने हल्ला थियो। त्यही हो कि होइन भनेर हामीले पसलमा बाँधेर राख्यौं।’
गाउँमा बाख्रा हराएको भनेर श्रीमानलाई थाहा नभएको उनको भनाइ छ। आफूलाई भने बाख्रा हराएको भन्ने थाहा भए पनि रङ यकिन नभएकाले त्यही बाँधेको उनले बताइन्।
बिहानपख सम्बन्धित बाख्राधनीलाई जिम्मा लगाउने भनेर नै बाँधिएको उनको भनाइ छ। बिहानको उज्यालो भएसँगै मानिसहरूको चहलपहल बढ्दै गयो।
उनको पसलमा मानिसहरूको आवतजावत भयो। बाख्रा पसलमा बाँधेर राखेको कुरा एक कान दुईकान हुँदै गाउँभरि नफैलने कुरै थिएन।
९/१० बजेतिर सोही वडाकी बिष्ना भुल हराएको बाख्रो आफ्नै भएको भन्दै आइपुगिन्।
भुलको पसल र बिष्नाको घर १०/१५ मिनेटको दुरीमा पर्छ।
उनले बाख्रा देख्नसाथ चोरी गरेर ल्याएको भन्दै भुलको परिवारमाथि आक्रोश पोख्न थालिहालिन्। दम्पतीले भने बिहान शौचालय जाँदा देखेर ल्याएको र आफ्नो भए लिएर जान भनेको कल्पना बताउँछिन्।
दम्पतीले पटकपटक बाख्रा आफ्ना भए लैजान भनिरहे, बिष्नाले पत्याइनन्। चोरी गरेको आरोप लगाउँदै त्यहीँ बसेर होहल्ला गरिन्।
‘हामीले बिहान वडा कार्यालय नजिकको शौचालयबाट ल्याएका हौं भनेर पटकपटक भन्यौं। अन्तमा सिसिटिभीमा भिडिओ पनि हेर्न भन्यौं,’ कल्पना भन्छिन्, ‘सिसिटिभी भिडिओमा पनि वडा कार्यालय नजिकैबाट घिच्चाउँदै ल्याएको प्रष्ट देखिएको छ। उहाँले पत्याउनु भएन।’
भिडिओ हेरेपछि पनि चोरेकै हो भनेर होहल्ला गरिरहेको उनले बताइन्।
हामीलाई वडाध्यक्ष साहेवलाल चौधरीले उपलब्ध गराएको भिडिओमा पनि भुलले झिसमिसे उज्यालोमा बाख्रा कानमा तान्दै लगेको देखिन्छ।
वडाध्यक्ष चौधरीले पनि उक्त भिडिओ हेरेका थिए। त्यहीकुरा बाख्रा धनीलाई आफूले पनि सम्झाउन खोजेको तर उनीहरूले नसुनेको वडाध्यक्ष बताउँछन्।
‘भुलले भनेकै समयमा कार्यालय अगाडि भएको बाख्रालाई घिच्याउँदै लगेको भिडिओमा देखिएको छ,’ वडाध्यक्ष चौधरीले भने, ‘भिडिओ हेरेर पनि चित्त बुझाएनन्। उनीहरूले भुलमाथि आरोप लागेर जाइलागे।’
बाख्रा धनीले चोरी गरेर त्यहाँ ल्याएर राखिएको भन्दै भुलमाथि आरोप लगाइरहे। समुदायका मानिसहरू सबै बाख्रा धनीको पक्षमा उभिएका थिए। भुल एक्लै भएपछि आफूले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरिदिएको वडाध्यक्ष चौधरीको भनाइ छ।
शुक्रबारको दिन थियो। कार्यालयबाट घरपुग्न समय लाग्ने भएकाले प्रहरीलाई खबर गरिदिएर आफू फर्किएको उनी बताउँछन्।
त्यसपछि प्रहरी घटनास्थलमा आए कि आएनन् भन्ने उनलाई थाहा छैन।
कल्पनाका अनुसार प्रहरी इलाका प्रहरी कार्यालयका दुईजना प्रहरी आएका थिए। उनीहरूले घटना सामान्य भएको र एकआपसमा कुराकानी गर्नु भनेर फर्किए।
बाख्रा धनीले चोरी भएकै हो भनेर झगडा भइरहँदा पैसा दिएर मिलापत्र गर्ने कुरा भयो। सुरूमा उनीहरूले बाख्रा चोरेर लुकाएको भन्दै पाँच लाख रूपैयाँ मागेको कल्पना बताउँछिन्।
‘५ लाखबाट बार्गेनिङ गर्दागर्दै एक लाख रूपैयाँमा अडिक थिए। अन्तिममा ३० हजारमा सहमती भयो,’ कल्पनाले भनिन्, ‘पैसा दिनेभनेपछि त्यो दिन झगडा रोकियो।’
शुक्रबार एकआपसमा सहमती भयो।
दोस्रो दिन अर्थात शनिबारको दिन बैंकहरू बन्द हुने र पैसा सरसपाटी माग्दा समय लाग्ने भएकाले आइतबार दिने भनिएको थियो। बाख्रा धनीले नमानेपछि शनिबार नै पैसा जुटाएको उनी बताउँछिन्।
‘पैसा जम्मा भएपछि दिउँसो बाख्रा धनीलाई बोलाउन गएको थिएँ। बोलाएको केही छिनमै पैसा लिन बिष्ना भुल र रमा रावल आएका थिए। पैसाको कुराकानी हुँदै गर्दा एक्कासी श्रीमानमाथि हातपात गर्नुभयो,’ उनले भनिन्, ‘उनीहरूले कुट्न थालेपछि अरू पनि थपिदैगए।’
झगडाले ठूलो रूप लियो।
झगडा छुट्याउने क्रममा स-साना छोरी, भान्जी, भाइ र आफूमाथि कुटपिट भएको उनको भनाइ छ।
उनले बताएअनुसार कुटपिट शान्त भएपछि प्रहरी घटनास्थलमा आइपुगेको थियो। प्रहरीको रोहबरमा बाख्रा धनीलाई ३० हजार रूपैयाँ बुझाइन्।
बाख्रा धनीलाई पैसा बुझाएपछि प्रहरी फर्कियो। यस घटनालाई प्रहरीले गम्भीर रूपमै नलिएको उनको आरोप छ।
यसबारे इलाका प्रहरी कार्यालय मसुरियाका तत्कालLन वरिष्ठ सई लक्ष्मीदत्त भट्टलाई सोध्यौं।
उनले यस घटनाबारे थाहा पाएपछि कार्यालबाट दुई प्रहरीलाई घटनास्थलमा पठाएको र उनीहरूले एकआपसमा मिल्ने भनेपछि फर्किएको उनी बताउँछन्।
‘हामी आफै मिल्छौं, सामान्य विवाद भएको हो भन्नुभयो, हामीले कानुनी प्रक्रियामा अगाडि बढ्न भनेका हौं,’ वरिष्ठ सई भट्ट भन्छन्, ‘भुलको श्रीमतीलाई पनि धेरै चोटपटक लागेको भए उपचारका लागि अस्पताल लैजान भनेका थियौं। उनले मेडिकलमै उपचार गर्ने बताएका थिए।’
उनीहरूलाई एकआपसमा मिल्नका लागि प्रहरीले नभनेको उनको दाबी छ। यस घटनामा भुलको मृत्यु भएसँगै उनलाई त्यहाँबाट सरूवा गरिएको छ। उनको ठाउँमा बमबहादुर खड्का आएका छन्।
प्रहरी र बाख्रा धनीले पैसा लिएर फर्किएपछि श्रीमानलाई गाह्रो हुँदै गएकाले स्वास्थ्यचौकीको एम्बुलेन्स बोलाएर हसनपुरको निसर्ग अस्पतालमा पुर्याएको उनी बताउँछिन्।
‘कुटपिटको चोट २४ देखि ४८ घन्टापछि मात्र देखिने भन्दै भर्ना गरेर राख्नुपर्यो,’ उनले भनिन्, ‘२४ गते राति भर्ना गरेका थियौं। बोल्दै हुनुहुन्थ्यो। २६ गते बिहानै बित्नुभयो।’
टाउकोमा र कलेजोमा चोट लागेको कारण मृत्यु भएको चिकित्सले बताएका छन्। आफूले श्रीमानलाई अस्पताल पुर्याउँदा बोलिरहेका थिए। त्यसैले सामान्य चोट लागेको होला भन्ने सोचेकी थिइन्। एक्कासी मृत्यु हुँदा उनी बेहोस भइन्।
‘३० हजार पैसा रूपैयाँ लगे, श्रीमानलाई पनि मारे,’ उनले भनिन्, ‘समूह नै आइलागेपछि श्रीमानलाई बचाउन सकिनँ।’
उनले थपिन्- ‘श्रीमानलाई ज्यानमार्ने धम्की आइरहेको थियो। बाख्रा चोरेकै बहानामा हत्या गरियो।’
भुलले लामो समयदेखि गाउँका विषयलाई समाचार र सामाजिक सञ्जालमा पोस्ट गर्दै स्थानीय तहहरूलाई खबरदारी गर्दै आएका थिए। उनी सुदूरपाटी डटकममा काम गर्थे।
७/८ महिनादेखि सुदूरपाटीमा काम गर्दै आएको प्रकाशक तथा सम्पादक शेरबहादुर सार्कीले पुष्टि गरे।
उनकाअनुसार भुलले समसामजिक विषयमा लेख्दै आएका थिए। उनी सूचनाको हकको अभियन्ता पनि भएकाले त्यही हक प्रयोग गरेर थुप्रै सूचनाहरू ल्याउने गरेका थिए।
‘वडा कार्यालय, सामुदायिक वन, सहकारी संस्था विद्यालय लगायतमा सूचनाको हक प्रयोग गर्दै सूचना मागिरहेका थिए,’ सम्पादक सार्कीले भने, ‘सूचना मागेकै काणा आफूलाई धम्की आइरहेको बताउँदै आएका थिए।’
भुलले आफूलाई आएका धम्कीपूर्ण म्यासेजहरू सार्कीलाई पटक-पटक देखाएका थिए। जुन अहिले पनि उनले सुरक्षित राखेका छन्।
त्यस्तै धम्कीपूर्ण म्यासेज आएको भन्दै उनले आरटीआई भन्ने ग्रुपमा पनि भनेका छन्। उक्त म्यासेजका स्क्रिनसट पनि उनका परिवारले सुरक्षित राखेका छन्।
गलत कार्यविरूद्ध खबरदारी गर्न थालेपछि गाउँका लागि मृतक भुल टाउको दुखाइ बनेको उनीहरू बताउँछन्। यो कुरा भुलकी श्रीमतीलाई पनि थाहा थियो।
‘अन्यायविरूद्ध लेख्नुपर्छ भनेर लागिपर्नुहुन्थ्यो, त्यही कारण ज्यान गयो,’ उनले भनिन्, ‘बाख्रा चोरेको त बाहना मात्र हो।’
बाख्रा चोरीको बाहना मात्र बनाइएको उनकी श्रीमतीलाई लागेको मात्र होइन, संघले गरेको स्थलगत अध्ययनमा पनि त्यही भनिएको छ।
श्रीमानको मृत्युभएपछि कुटपिट गरिहत्या गर्ने ७ जना र सामाजिक सञ्जालमा तथानाम लेख्ने एक जनासहित ८ जनाविरूद्ध जाहेरी दिएकी छन्।
उनको जाहेरीपछि गौरीगंगा नगरपालिका ११ का ५५ वर्षीय जंगबहादुर भुल, २८ वर्षीय विशाल विक, ३१ वर्षीय दिनेश विक, १९ वर्षीय दिनेश भुल, ४५ वर्षीया बिष्ना भुल, ३८ वर्षीया रमा रावल र ३१ वर्षीया धर्मसिह विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहराले जानकारी दिए।
मृतककी श्रीमतीले दिएको जाहेरीअनुसार सामाजिक सञ्जालमा भ्रम छर्ने व्यक्ति भने फरार रहेको डिएसपी बोहरा बताउँछन्।
‘हामीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेका छौं,’ उनले भने, ‘मुद्दा चलिरहेको विषय भएकाले धेरै बोल्न मिल्दैन।’
यस घटनालाई प्रहरीले गम्भिर नलिएको परिवारको आरोप छ। तर डिएसपी बोहराले यो कुरा इन्कार गरे। यस घटनामा आफूले अनुसन्धान गर्न विभेद नगरेको उनको भनाइ छ। सेतोपाटी