यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान

मंसिर, २३ काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् । मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् । हिजो राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले बताएको छ ।
दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने बताइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।
सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्वन्धि लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्य तालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनेछन् ।