हुम्ला लगायतका हिमाली जिल्लामा यस वर्ष पहिलोपटक हिमपात
मंसिर, २४ काठमाडाैं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ ।
बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको खबर छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।