फ्रान्समा आँधीका कारण धेरैको ज्यान गएको आशङ्का
फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएका छन् । हिजो आएको आँधीमा परी ११ जनाको ज्यान गएको पुष्टि भइसकेको छ ।
आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ । आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
राहतकर्मीहरु अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न नसकेका बीबीसीले जनाएको छ । उद्धारको प्रयास भइरहेको छ । मेयोटको जनसङ्ख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका खबरमा उल्लेख छ । एजेन्सी