Yeti Khabar

२०८१ पुष ३, बुधबार - Wed Dec, 2024 -

सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू

सप्तरी – सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले व्यवसायिकरुपमा रात्रिकालीन उडान शुरू गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा शुरू भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको बताउनुभयो । राजविराज विमानस्थलमा यसअघि बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गएको शुक्रवार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एअरले काठमाण्डौ–राजविराजको रात्रिकालीन व्यवसायिक उडान शुरू गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा इन्ट्रयुमेन्ट फ्लाइट (आईएफआर) नियम अनुसार उडान शुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द र ढिलाइको समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिने भएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुनेछ । यसअघि भीएफआर उडानका लागि कम्तीमा पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्या थियो ।

राजविराज विमानस्थल २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराजमा रात्रिकालीन उडानले मधेशको पर्यटन क्षेत्रमा पनि अवसर पुग्ने स्थानीयवासी रोशन मण्डलले विश्वास व्यक्त गर्नुभएको छ ।   

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com