कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना, निस्कनेले दुई लाख पाउने
पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ। कुश्मा नगरपालिकामा कुल तीन सय १० प्राथमिक तहको दरबन्दी रहेकोमा यो सङ्ख्या घटाएर दुई सय १९ मा झार्नुपर्ने अवस्था छ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दीपक सुवेदीका अनुसार कुश्मा नगरपालिकाका ९१ दरबन्दी ‘पुल’ अवस्थामा रहेका थिए। मन्त्रालय र विभागबाट कुश्मा नगरपालिकामा बढी भएका दरबन्दीहरू कटौती गरी बागलुङ र नवलपरासी पश्चिम पठाउने निर्देशन आएपछि नगरपालिकाले क्रमिक रूपमा दरबन्दी कटौतीको काम गरिरहेको छ। तर पनि २६ दरबन्दी अझै बढी हुँदा दरबन्दी मिलानमा समस्या भएपछि स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाशमा आकर्षित गर्न स्वर्णिम अवकाश योजना ल्याएको सुवेदीले बताए।
‘हामीकहाँ तीन सय १० दरबन्दी थिए, जसमा ९१ दरबन्दी घटाएर दुई सय १९ हुनुपर्ने हो। अहिलेसम्म करिब ६५ दरबन्दी काटिएका छन् भने बाँकी रहेका २६ दरबन्दीलाई व्यवस्थापन गर्नुपर्ने अवस्थामा छौँ’, उनले भने, ‘यो बिचमा कोही सरुवा भएर निर्धारित जिल्लामा जानुभएको छ, कोही पेन्सनमा निस्कनुभयो। तर अझै पनि मिलनको काम नसकिने देखेर नै यो योजना ल्याएका हौँ।’
यस वर्ष मात्रै यो योजना आएकोले कतिको सङ्ख्यामा इच्छुक शिक्षकहरू छन् भन्ने थाहा पाएर अर्को वर्ष निरन्तरता दिनको लागि सहज हुने नगरपालिकाको अपेक्षा छ। विस्थापित गर्नुपर्ने दरबन्दीहरू विस्तारै घटाउँदै लगिएकाले सार्नुपर्ने सबै दरबन्दी सारेपछि नगरपालिकाभित्रको दरबन्दी मिलान र पुनः वितरणमा सजिलो हुने शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले बताए।
यो योजना लागू गर्नको लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको र यो रकम दुई लाख रुपैयाँका दरले १० जना शिक्षकले मात्रै प्राप्त गर्ने उनको भनाइ छ। १० जनाभन्दा बढी शिक्षकहरुले अवकाशमा जाने गरी निवेदन दिएको अवस्थामा जुन शिक्षकको स्थायी सेवा पूरा भएर पनि सेवा गर्न पाउने ६० वर्षसम्मको उमेरको अवधि बढी छ उही शिक्षकहरूबाट क्रमशः अवकाशमा समावेश गरिनेछ।
२०८२ सालको मङ्सिरपछि अवकाश भएका शिक्षकहरुले मात्रै यो योजनामा सहभागी हुन पाउने छन्।
‘यस वर्ष १० जनालाई मात्रै यो योजनामा समावेश गर्दा हामीले घटाउनुपर्ने दरबन्दीको सङ्ख्या १६ मात्रै बाँकी रहने छ। यो बिचमा स्वतः अवकाश पाउने र आफैले अवकाश लिने पनि हुनुहुन्छ। अर्को वर्ष पनि करिब १० जनाका लागि योजना ल्याए दरबन्दी मिल्छ’, शाखा प्रमुख तिवारीले भने, ‘त्यसपछि नगरपालिकाको आन्तरिक मिलान गर्ने हो। कहीँ शिक्षक नभएर निकै कठिन भएको छ, कहीँ विद्यार्थी नै नभएर एक÷दुई जना विद्यार्थीलाई राखेर कक्षा चलाउनुपरेको छ। अब पालिकाको पुनः वितरणमा यी कुरा मिल्छन्।’ थाहा खबर