भक्तपुर डेराभित्र बाबुछोरा मृत भेटिए, जेठा छोरा
पुस, ९ काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा बाबुछोरा मृत भेटिएको छ ।
जेठा छोरा बेपत्ता भएको घटनामा प्रहरीले हत्याको आशंका गरेको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण कोठाभित्रै मृत भेटिएका थिए ।
कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् ।घटनाको अनुसन्धानमा संलग्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले मृत भेटिएका दुई बाबुछोराको शरीरमा चोट लागेकोजस्तो देखिएको, कोठाबाहिरबाट ताल्चा मारेको र सँगै बस्ने अर्का छोरा बेपत्ता भएकाले हत्या भएको हुन सक्ने बताए ।
बेपत्ता रहेका मिलनले नै घटना गराएको हुन सक्ने प्रारम्भिक आशंकातर्फ प्रहरी अनुसन्धान केन्द्रित छ । ‘बाहिरबाट ताल्चा मारिएको कोठाभित्र बाबुछोरा मृत भेटिएका छन् । उनीहरूको शरीरमा चोट लागेकोजस्तो देखिन्छ । सोही डेरामा सँगै बस्ने मृतक कुलप्रसादका जेठा छोरा मिलन सम्पर्कविहीन छन् ।
अनुसन्धानमा आबद्ध प्रहरी स्रोतका अनुसार जेठा छोरा मिलन आइतबार बिहान करिब तीन बजेको समयमा स्कुटरमा डेराबाट निस्किएका थिए । उनले नै शव भएको कोठामा ताल्चा लगाएर निस्किएको आशंका गरिएको छ । प्रहरीले उनीमाथि नै केन्द्रित गरी अनुसन्धान अघि बढाएको छ ।