Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

sharethis sharing button

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छिन् । 

समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको  उत्तिकै घुइँचो लाग्छ । 

विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा रु ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, “काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।”

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो । तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएकी छिन् । छाली र चिउरा प्रति बटुका रु एक सयमा बिक्री गर्ने गरिएको छ ।  

विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छिन् । एउटा छोरीले  स्नातकोत्तर उत्तीर्ण गरिन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् । तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा बस्छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com