Yeti Khabar

२०८१ माघ ९, बुधबार - Wed Jan, 2025 -

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा  शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो । उहाँलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

यसअघि उहाँ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो । उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो ।

यसैबीच अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताउनुभयो ।

यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ छ । उहाँले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गर्नुभएको छ ।

यसैबीच ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहनुभएको छ । वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गर्ने उहाँको तयारी रहेको बीबीसीले जनाएको छ ।

ट्रम्पले विशेषगरेर अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्ने, ड्रग कार्टेललाई आतङ्कवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने कामलाई प्राथमिकता दिनुभएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com