काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन

माघ, ११, काठमाण्डौ । काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा गएको मङ्गलवारदेखि शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि विपद् व्यवस्थापनसम्बन्धी सरोकारवाला सम्पूर्ण निकायबाट जनशक्ति परिचालन भएका छन् ।
बेथानचोक र महाभारत गाउँपालिकाको सीमामा पर्ने खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा लगेको आगो निभाउन सुरक्षाकर्मी, स्थानियवासीसहित डिभिजन वन कार्यालय धुलिखेलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
बिहीवार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो । यस्तै अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनभयो ।
उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगोलाई आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।