प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे गाउँपालिकाको भवन उद्घाटन
माघ, ११ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन भर्चुअलरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर जान नसकेपछि अोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए ।