भारत रेल दुर्घटनामा मृत्यु हुने नेपालीको संख्या सात पुग्यो

माघ, ११ काठमाडौं । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका १ जना रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।
रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।