कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो
काठमाण्डौ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी जाने गरेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबीबीएस, बीएनएस, बीपीएच, बी–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न अहिले विभिन्न जिल्लाबाट एक सय चार जना विद्यार्थी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको प्रतिष्ठानले जनाएको छ ।
मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको छ ।
बीपीएचमा नयाँ भर्ना भएका जुम्लाकाे कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय काठमाण्डौ पढ्न जानुपर्ने अवस्था अन्त्य भएर अहिले काठमाण्डौबाट जुम्ला पढ्न आउने विद्यार्थी धेरै रहेका बताउनुभयो ।
एमबीबीएस पढ्न प्रतिष्ठानमा काठमाण्डौबाट आएकी प्रतीक्षा ज्ञावालीले पनि प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिनुभयो ।
प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबीबीएसतर्फ–४३, बीपीएचमा–१५, बी–फार्मतर्फ–१४, बीएचसी नर्सिङमा–१७ , बीएनएसतर्फ–१५ गरी एक सय चार जना विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेका स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताउनुभयो ।