Yeti Khabar

२०८२ बैशाख ४, बिहीबार - Thu Apr, 2025 -

अध्यादेशबारे सत्तापक्षका दल एकमत : संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्ष

काठमाण्डौ – सत्तापक्ष दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् ।सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न हिजो भएको बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् ।

संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

गठबन्धन सरकार भएकाले थप केही छलफल गर्नुपर्ने विषय भए प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वसँग छलफल गर्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो । साथै अरु आवश्यक कानून पनि छिट्टै ल्याउने, संसद्लाई पर्याप्त बिजनेस दिएर तदारुकताका साथ कानून र विधि निर्माणमा उपयोग गर्ने बैठकको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी हुनुहुन्थ्यो ।

बैठकमा प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशलाई संसद्को पहिलो दिनमै पेश गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताउनुभएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com