‘परदेश यात्रा’ सकेर साँखु फर्किए माधवनारायणका व्रतालु
साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने व्रत गरिरहेका व्रतालुले चार दिने ‘परदेश यात्रा’ सम्पन्न गरी साँखु फर्किएका छन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति व्रतालु साँखु पुगेका हुन् ।
माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।
परदेशमा भोजन गर्ने स्थान
परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।
परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि व्रतालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए । परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन् । व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ ।
परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । व्रतालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उनले सुनाए । पनौतीतिरको परदेश यात्रा शनिबार गरिने समितिले जनाएको छ । माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । कठोर व्रत भए पनि व्रतालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् । शिलापत्र