Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

पानी नपरी बित्दै हिउँद, उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी – यसपालि सिङ्गो हिउँद पानी नपरी बित्नै जोखिम बढेको छ । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पनि पानी पर्ने चालचुल नदेखेपछि किसान अहिले चिन्तामा छन् ।

मुख्यगरी अपेक्षित हिउँदेबाली गहुँ, आलुलगायतको राम्रो उत्पादन नहुने चिन्ताले किसानलाई पिरोलिरहेको छ । ‘हिउँद पानी नपरी बित्ने भयो,’ महोत्तरी बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ,‘यसपाली हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’

कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बालीमा सिँचाइ गर्ने गरिएको उहाँको भनाइ छ । यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह घट्दै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ

माघ अन्तिम हप्ता लागि सक्दा तराई/मधेसमा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् । ‘आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन’, बर्दिवासका अर्का किसान विन्देश्वर यादवले भन्नुभयो । खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको उहाँले बताउनुभयो ।

भङ्गाहा–४ रामनगरका इस्लाम राइनका अनुसार मौसम पहिले देखे भोगेभन्दा फरक हुँदैछ । एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छोडेको छ ।

हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतो बताउनुहुन्छ । हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसान बताउँछन् ।

भर्खरै हुर्कदै गरेका लहरे तरकारी, उखु,आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन् । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ ।

हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ । हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com