अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए लगत्तै कर्मचारीलाई जागिर छाड्न दबाब आएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले कार्यालयमा फर्किन नचाहने सबै कर्मचारीलाई बिदाइ प्योकज दिने भन्दै आउँदो सेप्टेम्बरसम्मको तलब दिने घोषणा गर्नुभएको थियो । यो योजनामा अहिलेसम्म २० हजार सङ्घीय कर्मचारीले सहमति जनाएका खबरमा उल्लेख छ ।
अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको ट्रम्प प्रशासनले बताएको छ । यो कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय गर्न आजसम्मको समय दिइएको थियो ।
हालै सरकारी नियुक्ति पाएका उद्योगपति एलन मस्कले पछिल्लो दिनमा सरकारी कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मस्कले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाइरहनुभएको छ । अमेरिकी सरकारी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले भने सामूहिक राजीनामाको योजनालाई रोक्न मुद्दा दायर गरेका छन् । एजेन्सी