हमासले नियन्त्रणमा राखेका चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण गर्ने

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ । हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।
बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको शुरूमा रिहा गरेको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेका उहाँका बच्चाहरु ९ महिना र चार वर्षका थिए । हमासले इजरायली आक्रमणमा उनीहरुको ज्यान गएको बताउँदै आएको भए पनि इजरायलले यसको पुष्टि गरेको छैन ।
यसैबीच हमासले आउँदो शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई मुक्त गर्ने जनाएको छ । यस्तै इजिप्टको सिमाना हुँदै गाजामा भग्नावशेष हटाउने उपकरणहरू पठाउन पनि इजरायले अनुमति दिँदैछ । एजेन्सी