अफ्रिकन स्वाइन फिभरले बङ्गुर मरेपछि तनहुँमा ओसारपसार रोकियो

तनहुँ – तनहुँमा अफ्रिकन स्वाइन फिभरले १८ वटा बङ्गुर मरेपछि ओसारपसार रोकिएको छ । बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिनुभयो ।
तनहुँमा १८ वटा बङ्गुर मरेका छन् भने केही बिरामी भएका छन् । तनहुँमा एक महिनाअघि नै अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण देखिएको थियो । त्यसयता भीमादमा १४, शुक्लागण्डकीमा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. चौधरीले जानकारी बताउनुभयो ।
बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् ।
तनहुँमा १३ हजार पाँच सय किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशुका डाक्टरको सुझाव छ ।
अफ्रिकन स्वाइन फिभर रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ । अहिलेसम्म कुनै खोप अर्थात् ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्नेजस्ता लक्षण देखिने गरेको डा. चौधरीले बताउनुभयो । रासस