गुल्मीको रेसुङ्गा विमानस्थलमा फागुन महिनाभर उडान नहुने

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । जहाज बिग्रिएपछि मर्मतमा रहेको छ ।
एयरलाइन्सको रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि अहिले उडान स्थगन भएको हो । नेपाल एयरलाइन्सका साना जहाज दुईवटा छन् । एउटा पहिलेदेखि नै बिग्रिएको र अर्को जहाजको पनि इन्जिनमा समस्या आएको छ । बिग्रेको जहाज मर्मतका लागि काठमाण्डौमा रहेको छ ।
रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाण्डौ उडान भरेको थियो । २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झन्डै २० महिनामा ९० वटा मात्रै उडान भएका छन् ।रासस