पौने ४ किलो सुनसहित चार विदेशी नागरिक पक्राउ

फागुन, १५ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । हिजो राति फ्लाइ दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उज्वेकिस्तानका चार जना नागरिक ३ किलो ७ सय ४५ ग्राम सुनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उज्वेकिस्तानका तीन महिला र एक जना पुरुष रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा उज्वेकिस्तानका गुलामनोभन उमिदा अखमेदोभ, अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, सरदार तुर्सुनोभ र इस्राइलोभ्ना साओदत फैजिवा छन् । एसएसपी राठौरका अनुसार तीन महिलाले मलद्वारमा राखेर सुन ल्याएका थिए । विमानस्थलको टर्मिनल गेटमा शङ्का लागेर चेकजाँच गर्दा सुन फेला परेको हो, एसएसपी बताए ।