युक्रेनमा सुरक्षा सहायताका लागि २० देश तयार

युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् । युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ ।
सबै देशहरूले अनिवार्य रूपमा सेना पठाउनुपर्ने नभएर अरु विभिन्न सहयोग प्रदान गर्न सक्ने वेलायतले जनाएको छ । सेना तैनाथ बाहेक अरु के कस्ता सहयोग हुन सक्छन् भनेर पनि छलफल भइरहेको छ ।
बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । यसले युक्रेन र रूसबीचको युद्धविराम गर्न र शान्ति कायम राख्न काम गर्ने युरोपेली नेताहरुको विश्वास छ ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउँदै आएका छन् ।
टर्कीले शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ । रूसले भने युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ । एजेन्सी